न्यु अपडेट

प्रेम र नारी: सुबिन भट्टराई

एउटा पुरुष भएकाले प्रेम शब्दको उच्चारण हुनासाथ नारीको परिकल्पना स्वतः भैहाल्छ । पुरुष भएकाले नारी र नारी सौन्दर्यमा प्रेम खोज्नु सामान्य नै लाग्छ । सम्भवतः सम्पूर्ण नारी जातिमा पनि यहि भाव लागू हुन्छ भन्ने मलाई लाग्छ । विशेषतः यो सम्पूर्ण बायोलोजिकल्ली प्रक्रिया हो । प्रेम आफैँमा पनि बायोलोजिकल्ली प्रक्रिया हो भनेर म बुझ्दछु । नारीहरु देख्दा पुरुषमा अक्सिटोसिन र भ्यासोप्रेसिन नामक हर्मोन उत्पादन हुन्छ भन्ने बैज्ञानिकहरुको तर्क रहँदै आएको छ । एउटी नारी देख्दा पुरुषका हार्मोनहरु सक्रिय हुनुलाई हामीले प्राकृतिक र स्वभाविक प्रक्रिया मान्नुपर्छ । कुनै नारी कुनै पुरुषलाई किन मन पर्छ ? जवाफमा बिज्ञान नै फेरि पनि अघि सर्छ— आफ्नो सन्तानलाई जन्म दिन सक्छिन् भन्ने भावले पुरुषहरुमा नारीप्रति विशेष किसिमको भावना उद्भिज हुन्छ । प्रेमको शुरुवात पनि यहीँबाट हुने हो ।
प्रेम र नारी
तर नारीहरु पुरुषहरुभन्दा अलिक भिन्न हुन्छन् । माने, पुरुषहरुलाई जति छर्लङ्ग बुझ्न सकिन्छ, नारीको हकमा यो अलिक जटिल हुन्छ । पुरुष भएर मलाई यस्तो लागेको पनि हुन सक्छ । तर केही कुराहरु सँगतले पनि सिकाउँछन् । त्यसैका आधारमा भनेको । पुरुषहरु प्लाष्टिक जस्तै लाग्छन् । आगोमा पर्नासाथ कच्याककुचुक हुन्छन् । अनि नारी फलाम झैँ लाग्छन् जो हतपत तात्दैनन् तर तातेपछि हतपत सेलाउँदैनन् पनि । यो म प्रेमका सन्दर्भमा भनिरहेको छु । कोहीपनि पुरुष नारी भन्दा चाँडै प्रेममा पर्ने हैसियत राख्छ । तर नारीमा यो फ्याक्टर पुरुषको तुलनामा अलिक कम हुन्छ ।
अनि फेरि नारीहरुको स्वभाव पुरुष जतिकै सरल र बुझिने खालको हुँदैन । एक छिन अघिको पानी भएकी नारी एकछिनपछि आगो भएको हुन्छ । यसरी पानीबाट आगो वा आगोबाट पानी हुने स्वभावको दुरी पार गर्न पुरुषलाई भन्दा नारीलाई कम समय लाग्छ । यसका पनि विभिन्न कारणहरु हुन सक्छन् । मैले बुझेको एकमध्येको कारण, पिएमयस अर्थात् प्रि मेन्स्टुरेसन सिन्ड्रेम हुन सक्छ । जसमा सस्याना कुराहरुमा झर्किने, अनावश्यक कुराहरुमा रिसाउने आदि खालका स्वभावहरु पर्छन् । अधिकांश मूडी किसिमका हुन्छन् । यसमा पुरुषहरुले नारीलाई बुझेर त्यसलाई सहजताका रुपमा लिनु पर्छ । नारीलाई बुझ्नका लागि पुरुषले नारीजस्तै भएर सोच्नुपर्छ । उनीहरुको मूडसित परिचित हुनुपर्छ । उनीहरुलाई तर्क, बल आदिले होइन प्रेमले नै जित्न सकिन्छ । नारीहरुलाई सबैभन्दा छुने कुरा प्रेम नै हो ।
प्रेम चाहना र लगाव मात्र होइन । यो आवश्यकता पनि हो । प्रेमको मूल जति पुरुषमा फुट्छ, नारीमा अझ बढी फुट्छ । पुरुषले गर्ने प्रेममा आक्रामकता, हतारो, आंशिक रौद्रपना मिसिएको हुन्छ भने नारीले गर्ने प्रेममा करुणा, समर्पण र शास्त्रीय भावहरु ज्यादा हुन्छन् । उनीहरुको प्रेम तुलनात्मक रुपमा पुरुषभन्दा विशिष्ठ हुन्छ । जतिसुकै आधुनिकताले छोएपनि नारीहरुको प्रेम गर्ने शैली विशिष्ठ हुन्छ, तुलनात्मक रुपमा पुरुषहरुभन्दा शालीन र गाढा हुन्छ ।
(२०७३ भाद्र ३ गते शुक्रबार
नयाँ पत्रिकामा प्रकाशित)

No comments